काठमाडौं। दाङमा विद्युतीय कारको बिक्री वितरण सुरु भएको छ। पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको बेलामा विश्वमा माग बढेको विद्युतीय विवाइडी कम्पनीको कार दाङमा आइपुगेको हो।
ग्रुपका अध्यक्ष विमल पौडेलका अनुसार तुलसीपुरमा रहेको टिम इलिभेन ग्रुपले पश्चिम नेपालका लागि आधिकारिक बिक्रेताको जिम्मा लिएसँगै नेपालगञ्जमा शोरुम निर्माण गरेर विद्युतीय कारको बिक्रीवितरण सुरु गरिएको हो।
उनले हाल दाङ, नेपालगञ्जमा बिक्री खुला गरिसकेको र क्रमसः अन्य जिल्लामा पनि बिक्री सुरु गरिने जानकारी दिए। फागुन महिना भित्रमा घोराही, लमही र सल्यानमा नयाँ बिक्री केन्द्र स्थापना गर्न लागेको पनि बताए।
गाडी वातावरणमैत्री भएको हुँदा अत्यधिक रुचाइएको उनले बताए। विद्युतीय गाडी प्रयोगकर्ता विमल शर्माले चलाउन पनि सहज, खर्च पनि कम र आरामदायी यात्रा हुने बताए। यस भन्दा पहिले इन्धन गाडी चलाएको र लामो अध्ययन गरेर उपयोगी देखेपछि विद्युतीय गाडी किनेको शर्माको भनाइ छ।
शनिबारदेखि दाङमा बिक्री सुरु भएको विवाइडी विद्युतीय कार जिल्लामा ४ वटा पुगेका छन्। वितरकहरुले यसको माग बढीरहेको र अडर अनुसार उपलब्ध गराउँदै आएको बताए।