काठमाण्डौं। ८६ किलोमिटर लम्बाई रहेको कान्ति राजमार्गको सबैभन्दा बढी पहिरोको जोखिम रहेको तीन देखि चार किलोमिटर सडक कालोपत्रेको सट्टामा कङ्क्रिट ढलान गरीने भएको छ। राजमार्गमा निर्माण हुन बाँकी रहेको १० किलोमिटर सडकमध्ये कालोपत्र गर्न मिल्ने ठाउँमा कालोपत्र यहि वर्ष सकि बाँकी रहेको स्थानको निर्माण कार्य नयाँ ठेक्कामा गरीनेछ।
कालोपत्रे गर्न नमिल्ने स्थानमा डण्डी राखेर कङ्क्रिट ढलान गर्नको लागि नयाँ बजेट प्रस्ताव गरीएको छ। कान्ति राजमार्ग सडक निर्माण अरुतिरको भन्दा कम लगानीमा भइरहेको छ। यो सडकमा पहिरोको जोखिम बढी भएकोले पहिला त्यसलाई समाधान गरेरमात्र निर्माण कार्य अगाडी बढाउने योजना रहेको छ। निर्माण स्थलको अवस्था हेरेर त्यहि अनुरुपको कार्ययोजना बनाई त्यस क्षेत्रको निर्माण कार्य अगाडी बढाउने योजना रहेको छ। आगामी चैत्रसम्ममा समस्या भएको क्षेत्रलाई छोडी बाँकी ठाउँमा निर्माण कार्य सम्पन्न गरीनेछ। चालु आर्थिक वर्षमा काम नसकिएमा आउँदो वर्ष आवत जावतमा समस्या हुनुको साथै पहिरो बढ्ने समस्या पनि देखिएको छ। यदि चालु ठेक्का भएन भने पहिरोले अवरुद्ध भएको सडकमा निर्माण ब्यवसायीलाई काम लगाउन सम्भव रहदैन।
निर्माणाधीन रहेको कान्ति राजमार्गको सडकमा वर्षेनी जाने पहिरोको कारण कालोपत्रे नटिक्ने हुँदा राज्यको लगानी मात्र खेर गएकोले कालोपत्रे नगरी छोडेको हो। कालोपत्रे नटिक्ने ठाउँम कङ्क्रिट ढलान गर्ने योजना रहेको छ। वर्षेनी पहिरो जाने यस ठाउँमा छुट्टा छुट्टै ठाउँबाट पहिरो जाने हुँदा एउटा निश्चित ठाउँबाट पहिरो जान्छ भनेर आकलन गर्न सकिदैन्। निर्माण योजनाले टीकाभैरवदेखि एकान्तकुनासम्म मात्र हेर्छ। यो भन्दा अगाडी सातदोबाटोसम्म हेर्थ्यो तर यसलाई सरकारले राििस्ट्रय राजमार्गमा सुचिकृत गरेपछि अन्तिम विन्दु एकान्तकुना बनाइएको हो।
यस ठाउँमा एक लेनमा रहेका पुलहरुलाई विस्तार गरी सडककै चौडाइमा निर्माण गरीने छ। दुई लेनको सडक भएको यस स्थानमा काट्न नसकिने चट्टान भएको ठाउँमा भने चौडाई केहिमात्रामा कम रहेको छ। कालोपत्रे गर्न नमिल्ने ठाउँमा ग्राभेल गरी राजमार्गको निर्माण कार्य ९० प्रतिशत सकिएको योजना प्रमुखले जनाएको छ। पहिरोले अवरुद्ध सडक गत वर्ष धेरैदिन अवरुद्ध भएको थियो भने यस वर्ष योजनाले विभिन्न निकायसँग समन्वय गरेर दुई दिनामा नै सडक खुलाएको थियो। पुरै बाटो खुलाउन नसकेको ठाउँमा एकतर्फिमात्र खुलाइएको छ।
राजमार्गको सडक निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ। त्यस्तै राज्यले वर्षेनी राजमार्गको लागी वजेट विनियोजन गर्दै आएको छ। सरकारको प्राथमिकतामा परेपछि उक्त सडक निर्माण कार्य तिव्र गतिमा भइरहेको छ। निर्माण कार्य सुरु भएको ६ दशकमा कान्ति लोकपथ अन्तिम चरणमा पुगेको छ। निर्माणधीन उक्त राजमार्गलाई हेटौंडाबाट मुग्लिन हुँदै काठमाण्डौंसम्म ल्याउने विकल्पको रुपमा हेरिएको छ। राजधानीलाई तराइ/मधेश जोडने सडकमध्ये निर्माणाधीन सडक सबैभन्दा छोटो हुनेछ। राजमार्ग निमार्णको लागि मकवानपुरतर्फ ८५ करोड र ललितपुरतर्फ १ अर्व लाग्ने अनुमान गरीएको छ।