काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सेयरधनीलाई नगद वा बोनस सेयर दिनुको सट्टा विद्युतीय चुल्हो दिन सहकारीलाई आग्रह गरेकी छन्।
लगनखेलस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाको साधारणसभामा बोल्दै उनले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताएकी हुन्। उनले सहकारीका सम्पूर्ण सेयर सदस्यलाई विद्युतीय चुल्होको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेकी छिन्। एलपी ग्यास खरिद गर्दा पैसा डलरमा तिर्नुपर्ने भएकाले नेपालमै उत्पादित बिजुलीको प्रयोगगर्यो भने यसले देशभक्तिको पनि पहिचान दिने उनको भनाइ छ।
यसैगरी नेपालको बिजुली सस्तो भएको भन्दै मन्त्री भुसालले आफ्नो देशको पैसा आफ्नै देशमा राख्न र यसबाट मुलुकको आर्थिक गतिविधि बढाउन पनि ग्यासको विकल्पमा विद्युतीय चुल्होको प्रयोग गर्नुपर्ने जनाएकी छिन्। एलपी ग्यासको तुलनामा विद्युतीय चुल्होबाट खाना पकाउन लागत कम पर्ने विभिन्न अध्ययनले देखाएका छन्। यसैगरी पेट्रोलियम पदार्थको आयातका कारण मुलुकको अर्थतन्त्रमा ठूलो प्रभाव परेको हुनाले जनतालाई राहत दिन सरकारले विद्युत महसुल घटाएको जानकारी दिँदै मन्त्री भुसालले विद्युतीय उपकरणको प्रयोगलाई बढवा दिन उपभोक्तालाई आग्रह गरेकी छिन्।
सरकारले यही मंसिरदेखि लागू हुने गरी विद्युत महसुल घटाएको छ। त्यस्तै विद्युतीय सवारीको आयातमा पनि भन्सार महसुल घटाइएको छ। निमगले पेट्रोलियम पदार्थको कारोबारबाट मासिक चार अर्ब बढी नोक्सानी व्यहोर्दै आएको छ। एलपी ग्यासमा मात्रै निगमले मासिक साढे दुई अर्ब बढी नोक्सानी व्यहोरिरहेको छ। पेट्रोलियम सवारी साधनको सट्टा विद्युतीय सवारी खरिद गर्न पनि भुसालले आग्रह गरेकी छिन्।