काठमाडौं। नेपालमा हवाई उडानको संख्यामा भएको वृद्धिसँगै चरा र वन्यजन्तुसँग एयरक्राफ्ट ठोक्किने समस्यामा समेत बढ्दै गएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल एभिएसन सेफ्टी टीमले तयार पारेको तथ्यांक अनुसार सन् २०२१ मा मात्र चराका कारण ४३ र वन्यजन्तुका कारण १२ वटा साना–ठूला घटना भएका छन्।
ती मध्ये चरा र एयरक्राफ्टबीच काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा बढी समस्या भएको पाइन्छ। तर, वन्यजन्तुको जोखिम भने विराटनगर विमानस्थलमा बढी हुने गरेको छ।
तथ्यांक अनुसार चराको जोखिम सामना गरिएका ४३ वटा घटनामध्ये काठमाडौंमा मात्र १८ वटा रहेका छन्। वन्जयन्तुका कारण जहाजले बढी अवरोध भोगेको विराटनगर विमानस्थलमा सन् २०२१ मा मात्र ४ वटा यस्ता घटना भएका छन्।
आयोनको तथ्यांक अनुसार काठमाडौं र पोखरामा चराको गतिविधि बढी भएपनि यहाँ वन्यजन्तुका कारण जोखिम बेहोर्नु परेको छैन।