काठमाडौं। २० मेगावाटको माथिल्लो सेती खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। अप्पर सेती हाइड्रो प्रालिले गण्डकी प्रदेशको कास्की जिल्लामा पहिचान भएको आयोजना अगाडी बढाउन लागेको हो।
उक्त आयोजनाको अध्ययन पूरा भई उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ।
विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ।
विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय।सुझाव मागेको छ। सरोकारवालाले राय।सुझाव विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी पठाउन सक्ने विभागले जानकारी दिएको छ।
खोलामा बाँध बाँधी खोलाको दायाँपट्टि निर्माण हुने बाँधबाट पानी फर्काई उक्त पानीलाई आयोजनाको पेनस्टक पाइप हुँदै विद्युतगृहमा लगिने भएको छ। आयोजनाबाट २०८२ चैत्रभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ
उक्त आयोजनाबाट वार्षिक सरदर ११४.७२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ। उत्पादीत विद्युत १३२ केभी प्रसारण लाइन मार्फत ६ किलोमिटर दुरीमा रहेको करुवा सेती जलविद्युत आयोजनाको स्युचयार्डमा जोडिनेछ।