नवलपरासी। नारायणगढ–बुटवल सडकखण्डमा हालसम्म आधा मात्र काम पूरा भएको छ। बैशाख १५ सम्ममा नारायणगढ–बुटवलको पूर्वी खण्डको काम ५० प्रतिशत मात्र पूरा भएको हो।
हालसम्म ३३ किलोमिटर सडक कालोपत्र भएको आयोजनाले जनाएको छ।
अहिले सडकमा कालोपत्रसँगै सडक किनारको खाल्डा पुर्ने सडकमा ‘बेस’ र ‘सबबेस’ बनाउने काम भइरहेको छ । उक्त खण्डमा २५ मिटर लामा सबै साना पुलको निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ। ठूला पुलको ग्रिडर (पुलमा पिलर उठाएपछि ढलान गर्न राखिने बिम) राख्ने काम पनि भइरहेको छ।
एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा राजमार्ग विस्तार थालिएको हो।