काठमाडौं। आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै छ। हरेक वर्ष मे २ तारिखका दिन मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ।
मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो।
आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ ।
सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार समेत प्रदान गर्ने कार्यक्रम छ ।
सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।