बागलुङ। बागलुङको गलकोट नगरपालिकामा धमाधम ग्रामीण सडक स्तरोन्नति गर्न थालिएको छ। नगरपालिकाभर रहेका नयाँ र पुराना गरी ४ सय ८७ किलोमिटर ग्रामीण सडकलाई प्राथमिकतामा राखेर पालिकाले स्तरोन्नतिको काम थालेको हो।
नगरपालिका स्थापना हुन पूर्व नै गलकोटमा धेरै सडक ट्र्याक खुलेका थिए । २०७३ अगाडि तीन सय ३० किलोमिटर ग्रामीण सडकको ट्र्याक खुलेको थियो । सात वर्षको अवधिमा एक सय ५७ किलोमिटर थप सडक ट्र्याक खुलेको छ।
११ वटै वडाको सबै बस्तीमा सडक पुगेको हुँदा अब नयाँ ट्र्याक खोल्ने काम रोकेर भएका सडकलाई स्तरोन्नति गर्न थालिएको पालिकाले जनाएको छ।
यस वर्ष हटिया–हरिचौर–ताराखोला सडक, हटिया बजारदेखि कोटघर सडक र नरेठाँटी–दुदिलाभाटी सडक कालोपत्र गर्न थालिएको छ। मल्म–पाण्डवखनी, रँगेनी–तोरीखोला–ठानामजुवा सडक र हरिचौर–टेउवालगायत पालिकाभरका २० वटा सडक चालू आर्थिक वर्षमा स्तरोन्नति भइरहेको समेत पालिकाले जनाएको छ।