काठमाडौं। ऊर्जामन्त्री पम्फा भुसालले विद्युत खरिद सम्झौता (पीपीए) तत्काल नगर्ने संकेत गरेकी छन्। सरकारले विगत तीन वर्षदेखि पीपीए गरेको छैन।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र आर्थिक पोलिसी इन्क्यूभेटर (ईपीआई)ले आइतबार राजधानीमा गरेका ऊर्जा व्यापारसम्बन्धी कार्यक्रममा उनले विद्युत् व्यापारको बाटो खुलाउनुपर्ने बताएकी छिन्। विद्युत व्यापार खुला भएपछि मात्रै पीपीए गर्दा त्यसको सदुपयोग हुने उनले बताएकी हुन्। यसैगरी उनले छिमेकी मुलुकमा विद्युत् निर्यात गर्न ऊर्जा कूटनीति आवश्यक भएको बताएकी छिन्। त्यसका उनले लागि भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मालाई ऊर्जा कुटनीतिका लागि आग्रह गरेको बताएकी छिन्।
यसैगरी मन्त्री भुसालले निजी क्षेत्रले पनि विद्युत् व्यापार गर्न दिन माग गर्दै आइरहेका भन्दै निजी क्षेत्रले निर्यात गर्न सक्ने स्पष्ट आधार ल्याए विद्युत् व्यापार गर्न निजी क्षेत्रलाई पनि दिने बताएकी हुन्। तर, सरकारले गर्न नसकेको विद्युत् व्यापार निजी क्षेत्रले गर्छ जस्तो नलागेको उनको भनाइ छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईपान) का अध्यक्षले निजी क्षेत्रले विद्युत् व्यापार गर्न सक्ने बताएका छन्। सरकारले गर्न नसकेको काम निजी क्षेत्रले गर्न सक्दैन भन्नु गलत भएको उनले जनाएका छन्।