नवलपरासी। एमसिए–नेपालमार्फत निर्माण हुने ४०० केभी नयाँ–बुटवल सबस्टेसन निर्माणको ठेक्का सम्झौता भएको छ। ३९ महिनाभित्र काम पूरा गर्ने गरी सबस्टेसन निर्माणको ठेक्का सम्झौता भएको हो।
सबस्टेसन निर्माणको ठेक्का भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिले पाएको छ।
सबस्टेसन निर्माण क्षेत्रमा बिहीबार आयोजित एक कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, नेपालका लागि अमेरिकी राजदूत थम्पसन, स्थानीय अधिकारीहरू तथा निर्वाचित जनप्रतिनिधिहरूको उपस्थितिमा सम्झौता भएको एमसिए नेपालले जानकारी दिएको छ ।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डीनआर. थम्पसनले नेपालको ऊर्जा सम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको बताए । उनले घरेलु उपभोग, विस्तारित व्यापारिक एवं औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दो गरी विद्युत् उपलब्ध भइरहेको नेपालको प्रसारण क्षेत्रमा ४०० केभी नयाँ बुटवल सबस्टेसनले सुधार ल्याउने बताए।
यसैगरी, कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो ४०० केभी सबस्टेसन प्राधिकरणको प्राथमिकतामा रहेको बताए ।