तनहुँ। तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय मानुङकोटमा घर निर्माण प्रक्रिया खुला गरिएको छ । पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भइरहेको मानुङकोटमा मापदण्ड तोकेर घर निर्माण प्रक्रिया खुला गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
मानुङकोटमा स्थानीयबासीले बस्ती छाड्दै जाने र बाहिरबाट जानेले जथाभावी घर निर्माण गर्ने अवस्था आएपछि नगरपालिकाले घर निर्माण प्रक्रिया रोकेको थियो । पर्यटकीय क्षेत्रको मौलिकता कायम गर्नका लागि यस्तो निर्णय गरिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । नगरपालिकाले निकास नखुलेका घरजग्गा समेत समेटी मानुङकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजना अगाडि बढाउने निर्णय गरेको उनको भनाइ छ ।
मानुङकोटमा घर निर्माण गर्दा मौलिकता झल्कने खालका घर निर्माण गर्न दिने विषयमा छलफल भएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए । मानुङकोटमा आफूखुसी संरचना बनाउन नदिन मापदण्ड तोक्ने निर्णय भएको उनको भनाइ छ । मानुङकोटमा खानेपानीको दुःख भएपछि यहाँबाट स्थानीयबासी सहर झरेका थिए । अहिले पनि मानुङकोटमा पानीको सुविधा पुगिसकेको छैन । तर मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि गाउँ छाडेका पुनः गाउँ फर्किएका छन् ।
७० घर रहेको मानुङकोटमा अहिले १०।१२ घरमात्रै छन् । सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङकोटमा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । मानुङकोटबाट पाँचवटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ ।
यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । दमौलीबाट सात किलोमिटर दूरीमा अवस्थित यहाँ पुग्नका लागि सडक कालोपत्रे भएको छ । सडक कालोपत्रे भएपछि सर्वसाधारणलाई मानुङकोट उक्लिन सहज भएको छ । मानुङकोट कोरोनापछि एक्कासि चर्चामा आएको हो । कोरोनाकालमा एकैदिन १० हजारभन्दा बढी पर्यटक मानुङकोट उक्लिएका थिए । गर्मी मौसममा भन्दा जाडो मौसममा यहाँ पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ । कारोबार दैनिकबाट