सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल हिमाल जाने बाटोमा फलामको बाटो (आइरन पथ) निर्माण गरिएको छ। पर्यटन विभागको ग्रेट हिमालय रूटको बजेटमा ३० लाख लगानीमा आइरन पाथ निर्माण गरिएको हो।
जुगल हिमालको बेसक्याम्पबाट पहरा तथा भीरमा ड्रिल मेसिनद्वारा खोपी फलाम राखेर बाटो निर्माण गर्ने गरिएको छ। साहसिक पर्यटक र पर्वतीय पर्यटनका लागि जुगल रूटमा आइरन पाथ खोलिएको टीम लिडर तुलसि गुरुङले बताए। अन्तरराष्ट्रिय माउन्टेनियरिङ गाइड समेत रहेका गुरुङले आइरन पाथ युरोपको रक क्लाइम्बिङ क्षेत्रमा प्रसिद्ध रहेको जानकारी दिए। गुरुङको १० जनाको टीमले २० दिन लगाएर सो आइरन पाथ निर्माण गरेको हो।
राजधानीको नजिकै रहेको जुगल हिमाल प्रवद्र्धन हुन सकेको छैन साथै हिमालको बेस क्याम्पसम्म पुग्ने बाटो पनि सहज छैन। अब आइरन पाथ निर्माणले कठिन बाटो सहजै पार गर्न सकिने भएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार जुगल हिमशृङ्खलामा ग्याल्जेन पिकसहित ११ ओटा चुचुरो पर्दछन्, जसमध्ये ६ हजार २ सय ५६ मिटरदेखि ६ हजार ९ सय ६६ मिटर उचाइका आठ चुचुरा छन्।