लमजुङ। लमजुङको बेँशीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नती गर्न थालिएको छ। क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ३ घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म काम सुरू भएको हो।
पूर्वाधार विकास कार्यालय लमजुङले घलेगाउँसम्म १० किलोमिटरमा कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको ७ किलोमिटरमा ग्राभेल गर्ने काम भइरहेका जानकारी दिएको छ। वर्षौदेखि अलपत्र रहेको सडकमा गत माघ महिनादेखि काम अगाडि बढेको र हाल कालोपत्रलगायतका काम भइरहेका कार्यालयले जनाएको छ।
उक्त कार्यका लागि कान्छाराम–नाना जेभीसँग २०७६ असोज ३० गते सम्झौता भएको थियो । २०७८ असोज २९ गतेभित्र सम्पन्न गर्ने भनिए पनि विभिन्न कारणले काम अघि बढेको थिएन्।
अन्तिमपटकका लागि २०८० चैत २२ गते पुनः म्याद थप भई आगामी असोजसम्म कार्यसम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ।
सडक कालोपत्रे तथा ग्राभेलका लागि ३४ करोड ७७ लाख १४ हजार ४ सय १० रुपैयाँमा सम्झौता भएको सो योजनामा हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको र २० करोड ४० लाख रुपयाँ खर्च भइसकेको छ।