काठमाडौं। पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोको अभावका कारण समस्या भएको छ। पूर्वी खण्डमा मात्र करिब १० लाख घनमिटर आवश्यक पर्नेमा माटो सहज उपलब्ध नहुँदा सडक स्तरोन्नति कार्यमा समस्या भएको हो।
यस क्षेत्रमा हालसम्म १० प्रतिशत मात्र माटो फिलिङको काम भएको छ। जेठ अन्तिमदेखि बर्खा लाग्ने हुँदा तीन महिनासम्म माटो झिक्न नमिल्ने भएकाले माटो उपलब्धता प्रक्रियामा चाँडै सहज नभए निर्माण कार्यको ढिलाइ झन बढ्ने देखिन्छ।
काँकरभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५.७६० किलोमिटर सडक मात्र ठेक्का लागेर काम सुरु भएको छ। ३ वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा स्तरोन्नति सुरु भएको हो । आयोजना निर्माणमा ३० करोड डलर लाग्ने अनुमान गरिएको छ । कूल ९५.७६० किमी सडक क्षेत्रभित्र साना र ठूला गरी जम्मा ४८ वटा पुल, १० वटा ओभर पास बन्नेछन् ।