काठमाडौं। होटेल एसोसिएसन नेपाल (हान)ले सरकारले घोषणा गरेको कर्मचारीका लागि १० दिने पर्यटन काज बिदा कार्यक्रम यथाशीघ्र कार्यान्वयन गर्न माग गरेको छ।
पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीलाई बधाई तथा शुभकामना दिन आइतबार भएको कार्यक्रममा हानले कोरोना भाइरसबाट अतिप्रभावित पर्यटन तथा होटल उद्योगको पुनरुत्थानका लागि काज बिदा अविलम्ब कार्यान्वयनमा ल्याउन माग गरेको हो ।
हानले काज बिदाको कार्यविधि पनि तुरुन्त पारित गर्न माग गरेको छ। हानकी अध्यक्ष सिर्जना राणाले पर्यटन तथा होटेल उद्योगको पुनरुत्थानका लागि विभागले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्। आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले सम्बोधन गरेका विषयहरू अझै कार्यान्वयनमा आउन नसकेको भन्दै उनले यसमा विभागले विशेष अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन्।
यसैगरी वातावरण संरक्षण ऐन २०७६ मा २५ बेडसमेतका होटेलहरूलाई संक्षिप्त वातावरणीय अध्ययन गर्न बाध्यकारी व्यवस्था गरिएको भन्दै यस्तो नियम लागू नगर्न पनि हानले माग गरेको छ। यो ऐन पारिवारिक वातावरण र सानो लगानीमा सञ्चालनमा रहेका होटेलहरूलाई सान्दर्भिक नदेखिएकाले बाध्यकारी नबनाउन हानले विभागसमक्ष माग राखेको हो। यसैगरी पर्यटन उद्योगको सहजताका लागि दर्ता कर, शुल्क, नवीकरण आदि काम पर्यटन विभागमार्फत गर्न पनि माग गरिएको छ। यसले दिगो पर्यटनलाई टेवा मिल्ने हानको विश्वास छ।