म्याग्दी। साढे ४ करोड लागतमा म्याग्दी नदीमाथि पुल निर्माण गरिएको छ। पूर्वाधार विकास कार्यालय म्याग्दीको ४ करोड ४५ लाख ८१ हजार लागतमा म्याग्दी नदीमा ४० मिटर लामो पुल निर्माण गरिएको हो।
छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै मालिका–१ र मङ्गला गाउँपालिका–५ दरबाङसँग जोडिएको छ।
छ्यारछ्यारेमा पुल निर्माण भएपछि निस्कोटको दरबाङसँग सिधा यातायात सम्पर्क स्थापित भएको हो।
पूर्वाधार विकास कार्यालय म्याग्दीले प्रदीप जुम्ली जेभीसँग २०७७ साउन ४ गते पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । उक्त योजनाअन्तर्गत ‘स्टिल ट्रष्ट’ प्रविधिको मोटरेबल पुल निर्माण भएर सञ्चालनमा आएको कार्यालयले जनाएको छ।
हिउँदयाममा म्याग्दी खोलाबाटै जोखिमपूर्ण यात्रा गर्नुपर्ने र बर्खायाममा पूर्णरुपमा सवारी आवागमन बन्द हुने गरेको अवस्थामा पक्की पुल निर्माण भएपछि राहत भएको मङ्गला–५ छिस्वाङका स्थानीयले बताए।