काठमाडौं। विद्युत वितरण प्रभावकारी बनाउने उद्देश्यकासाथ नेपाल विद्युत प्राधिकरणले प्रदेश २ मा थप १० वटा सबस्टेशन निर्माण गर्ने भएको छ। प्राधिकरणमार्फत सञ्चालित ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ३३ केभी क्षमताका सवस्टेशनहरु निर्माण गरिने भएको हो।
प्राधिकरणको आयोजना अन्तर्गत शुक्रबार महोत्तरीको बर्दिबास नगरपालिका–२ मा सबस्टेसनको शिलान्यास गरेको छ। सवस्टेशन निर्माणसँगै प्रदेश २ का आठ जिल्लाहरुको विद्युत प्रसारण र वितरण प्रणाली सुधार हुने आयोजनाले जनाएको छ। आयोजनामार्फत प्रदेश २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको विद्युत वितरण प्रणालीको सुदृढीकरण तथा पुनस्र्थापना र पूर्ण विद्युतीकरण गरिने जनाइएको छ।
यसैगरी सवस्टेशन निर्माणसँगै ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन, १ हजार सर्किट किलोमिटर ४ सय भोल्टको नयाँ लाइन निर्माण गरिने जनाएको छ। यसैगरी प्राधिकरणले ५ सय थान नयाँ वितरण ट्रान्सफर्महरु जडान गर्ने भएको छ। प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भइरहेको सो आयोजनालाई ५ चरणमा विभाजन गरेर निर्माण सम्पन्न गर्ने योजना रहेको छ। यसका लागि प्राधिकरण र निर्माण कम्पनी टाटा प्रोजेक्टबीच गत चैतमा करिब ४ अर्ब रुपैयाँको ठेक्का सम्झौता भएको थियो।
हाल ३० महिना भित्रमा काम सम्पन्न हुनेगरी काम भैरहेको जनाइएको छ। सो आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले तीन करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ। उक्त अनुदान एसियाली विकास बैकमार्फत संचालित रहेको छ।