गलेश्वर। दरबाङको उपल्लो बजारमा सडक कालोपत्र गरिएको छ। उक्त बजारमा ढल निकासको पक्की नालीसहित सडक कालोपत्रे गरिएको हो।
२०६३ मा ट्र्याक खुलेको र बेनी–दरबाङ सडकसँग जोडिएको यो सडकले दिच्याम र उपल्लो दुखुलाई जोड्छ । बजारको बाटो कालोपत्र भएपछि गाउँको सौन्दर्य बढेको छ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि सडक कालोपत्र गरिएको हो। दुई सय ५० मिटर प्रिमिक्स प्रविधिको कालोपत्र र एक सय ५० मिटरमा पक्की नाला निर्माण गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।