तनहुँ। तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथिको पुलको काममा ढिलासुस्ती भएको छ। पटक पटक म्याद थप गरेर निर्माण भइरहेको पुलको काम हालसम्म २५ प्रतिशत मात्र पूरा भएको हो।
पुल निर्माणका लागि तीन वर्षमा पूरा गर्नेगरी २०७७ चैत २३ गते शिलान्यास गरिएको थियो। सम्झौताको अवधिमा २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो। हालसम्म तीन पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८२ असोजसम्म म्याद थप गरिएको छ । तीन पटक म्याद थप गर्दा समेत पुल निर्माणको काम एक चौंथाइ मात्र भएको छ।
गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ रुपैयाँ लागतमा पुल निर्माण हुन लागेको हो । पुल निर्माणका लागि २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौंसँग सम्झौता भएको थियो ।