ताप्लेजुङ। ताप्लेजुङको काबेली बेसिनमा निर्माणाधीन तीन वटा जलविद्युत आयोजना आगामी असोजभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ। एउटै समूहले विभिन्न प्रवद्र्धक कम्पनीमार्फत निर्माण भइरहेका ४७.४३ मेगावाटका जलविद्युत आयोजना आगामी असोजभित्र प्रसारण प्रणालीमा आउने भएका हुन्।
१३.५ मेगावाटको सुपर काबेली खोला ‘ए’, १२ मेगावाटको सुपर काबेली खोला क्यासकेड र २१.९३ मेगावाटको काबेली–३ आयोजनाको सिभिल संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
अहिले सबै आयोजनाको विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सुरु हुन लागेको बताइएको छ। इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थलमा ल्याउने काम भइरहेको छ ।
३ वटै आयोजना प्रतिमेगावाट साढे १९ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्न लागिएको हो।
यी ३ वटै जलविद्युत आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत १३२ केभी काबेली करिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा लगेर जोडिनेछ ।
सुपर काबेली खोला आयोजना स्नोरिभर्स लिमिटेड, सुपर काबेली खोला क्यासकेड हिल्टन हाइड्रो इनर्जी र काबेली–३ आयोजना काबेली हाइड्रोपावर कम्पनीमार्फत निर्माण भइरहेका छन् ।