भैरहवा। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी गुरुयोजनाको काममा अत्यन्तै ढिलासुस्ती भएको छ। निर्माण कार्य सुरु भएको ४८ वर्षसम्म पनि गुरुयोजना पूरा हुन सकेको छैन।
पछिल्लो पाँच वर्षमा लुम्बिनी गुरुयोजनाको काम तीन प्रतिशत मात्र भएको देखिएको छ।
२५६३ औँ बुद्ध जयन्तीमा गुरुयोजनाको ८२ प्रतिशत काम पूरा भएको प्रतिवेदन सार्वजनिक गरिएकामा पाँच वर्षपछि ८५ प्रतिशत मात्र काम पूरा भएको विवरण कोषले सार्वजनिक गरेको हो।
दुई वर्षअगाडि नै गुरुयोजना अन्तर्गतका छ वटा भवन, फोहोर व्यवस्थापन, नदी डाइभर्सनबाहेकका काम सम्पन्न भएको भनिए पनि धेरै योजना बहुवर्षीय ठेक्का लागिसकेकाले निर्माणाधीन अवस्थामा रहेका छन् ।
गुरुयोजना क्षेत्रभित्र शुद्ध पानी वितरणका निम्ति ११ लाख लिटर क्षमताको भूमिगत तथा तीन लाख लिटर क्षमताको दुई वटा विशेष डिजाइन भएको पानी ट्याङ्की, करिब २५ किलोमिटर क्षेत्रमा पानी वितरण प्रणाली सम्पन्न भएको कोषले जनाएको छ ।
जापानी वास्तुविद् प्राध्यापक केन्जो टाङ्गेले सन् १९७२ मा सुरु गरेर १९७८ मा लुम्बिनीको गुरुयोजना तयार गरी सरकारलाई हस्तान्तरण गर्दा १५ वर्षमा सम्पन्न हुनुपर्ने लक्ष्य राखिएको थियो ।
स्रोत गोरखापत्र