तनहुँ। तनहुँ जिल्लाको व्यास नगरपालिकामा सडक स्तरोन्नति गरिने भएको छ। करिब ४१ करोड लागतमा व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने सडक स्तरोन्नति गरिने भएको हो।
सडक स्तरोन्नतिका लागि ४० करोड ८३ लाख ३५ हजार ९ सय २१ रुपैयाँमा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएलसँग सम्झौता भइसकेको छ।
विश्व बैंकको ऋण सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत उक्त सडक कालोपत्रका लागि सम्झौता गरिएको हो।
उक्त सडकले बुल्दीखोला, बेल्टारी, फराकचौर, अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, कुमालगाउँ, समता स्कुल, कलेस्तीलगायत स्थान जोड्छ । १०.५५ किलोमिटर उक्त सडकखण्डमा कालोपत्र, नाला तथा अन्य संरचना निर्माण गरिने छ ।