सिरहा। कमला नदीको पुल बनाउन माग गर्दै आन्दोलन सुरु भएको छ। हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीको पुल बनाउन माग गर्दै सिरहा सदरमुकाममा स्थानीयले आन्दोलन गर्न थालेका हुन्।
स्थानीयले पुल निर्माण संघर्ष समिति निर्माण गरेर आगामी बजेटमा कमला नदीको पुलका लागि बजेट सुनिश्चित गर्न माग गर्दै आन्दोलन थालेका हुन्।
आन्दोलनका कार्यक्रम अन्तर्गत आज बिहानैदेखि उनीहरूले सदरमुकाममा चक्काजाम गरेका छन् ।चक्काजाम ११ बजे खोलेर त्यसपछि यहाँका सम्पूर्ण सरकारी कार्यालय बन्द गरिने संघर्ष समितिले जनाएको छ ।
उनीहरूले यसअघि शनिबार सदरमुकाममा मसाल जुलुस निकालेका थिए भने आइतबार प्रदर्शन गर्दै विरोध स्वरुप बजार बन्द गरेका थिए ।
संघर्ष समितिले गत शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण पत्र पठाएको थियो ।