म्याग्दी। बेनी बजारमा निर्माणाधीन रहेको खानेपानी आयोजनामा बजेट अभाव भएको छ। बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुुधार गर्न सञ्चालित आयोजना निर्माणमा बजेट अभाव भएको हो।
निर्माण कम्पनीलाई अघिल्लो आर्थिक वर्षदेखिको १ करोड ३८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने योजनाका लागि चालू आवमा १ लाख रुपैयाँ मात्र बजेट प्राप्त भएपछि निर्माण प्रभावित भएको छ।
संघीन खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रमअन्तर्गत २०७८ असोजमा काठमाडौँको एएम प्याराडाइजसँग २ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
यसअघि गरेको कामको भुुक्तानी नपाएको र थप बजेट प्राप्त हुने सुनिश्चित नभएपछि गत फागुनदेखि निर्माण रोकिएको छ। ९० प्रतिशत भौतिक प्रगति भएको आयोजनामा गत वर्ष काम गरेको ५६ लाख भुक्तानी पाउन बाँकी रहेको निर्माण कम्पनीको भनाइ छ।