गुल्मी। मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–रिडी सडक खण्डको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम हुँदैछ । गत चैतदेखि सडक बन्द गरेरै काम धमाधम भइरहेको हो।
सडकको केही ठाउँमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका काम बाँकी छ ।
सवारी साधनको चाप बढेसँगै पुरानो बाटो साँघुरो भएकाले रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडकखण्ड विस्तार गरिँदै छ । सोही योजना अन्तर्गत पहिलो चरणमा रिडीदेखि राजासम्म २५ किलोमिटर सडक स्तरोन्नतीसँगै कालोपत्रे हुन लागेको हो ।
सोही स्तरोन्नती र कालोपत्रेको काम भइरहेकाले रिडी–तम्घास सडकखण्ड फेरि एक महिनासम्म बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै जेठ १८ गतेदेखि असार १६ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको हो।
कार्यालयले वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न अनुरोध समेत गरेको छ ।