काठमाडौं। नुवाकोटमा निर्माणाधीन सोलार आयोजना रोकिएको छ। निर्माणाधीन ग्रिडमा आवद्ध सोलार आयोजनाको कार्यालयमा युवा सङ्घर्ष समितिले ताला लगाएसँगै काम बन्द भएको हो।
सामाजिक उत्तरदायित्वको जिम्मेवारी पूरा गर्न दिएको समयमा आयोजनाले बेवास्था गरेको भन्दै विदुर नगरपालिका–१२ का युवा सम्मिलित युवा सङ्घर्ष समितिले कार्यालयको मूल ढोकामा ताला लगाएको हो। यो भन्दा पहिला पटक–पटक भएको सहमति अनुसार गत मङ्सिर १० गते माग पूरा गर्न दिएको १५ दिनको समयअबधी मा आयोजनाले वास्ता नगरेकाले कार्यालयमा ताला लगाएको समितिका संयोजक रोजिना ढुङ्गानाले जानकारी दिए। आफ्ना मागहरु पुरा नभएपछि बाध्य भएको उनको भनाइ छ।
जनप्रतिनिधिको उपस्थितीमा आयोजनाले जनाएको जिम्मेवारी पूरा गर्न बेवास्था गरेसँगै कार्यालयमा ताला लगाउन बाध्य भएको उनले बताए। युवा सङ्घर्ष समितिसहित सोलार सरोकार समितिसहितको उक्त क्षेत्रका विभिन्न सङ्घसंस्था र समितिले आयोजनाको पहुँच मार्गमा पर्ने ब्यारेक चोकदेखि ज्यामिरे मोडसम्मको लगभग पाँच किलोमिटर सडक कालोपत्रको माग राख्दै आएका छन्।
आयोजना प्रमुख विकास रघुवंशीका अनुसार आयोजनाको कार्यालयमा ताला लगाएसँगै जारी रहेको सोलार ग्रिडको निर्माणको काम प्रभावित भएको छ। उनको अनुसार स्थानीयवासीको माग जायज भए पनि शान्तिपूर्ण प्रक्रियाको सट्टा तालाबन्दीले योजनाको निर्माणलाई थप ढिलो भएको हो।
प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट जलविद्युत् केन्द्रको नाममा रहेको खाली जग्गामा निर्माण सुरु गरिएको सोलार प्लाण्टमार्फत २५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यको साथ काम अघि बढाइएको छ। आयोजनाबाट अहिलेसम्म १० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण प्रणालीमा जोडिएको छ।