पाल्पा। रामपुर–बेलडाँडा–ढुङ्गानाबेशी–मित्याल–अरुणखोला सडक स्तरोन्नती गर्न माग गर्दै स्थानीय तहको ध्यानाकर्षण गराइएको छ। निस्दी गाउँपालिकाको मुख्य सडक स्तरोन्नतिको माग गर्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको हो ।
नवलपुरको अरुणखोलादेखि जलुकेघाटसम्म स्तरोन्नति गरी पिच भइसकेको अवस्थामा गाउँपालिकाको मुख्य पहुँच मार्गको रुपमा रहेको रामपुर–बेलडाँडा–ढुङ्गानाबेशी – मित्याल–जलुके खण्ड अझै स्तरोन्नति नभएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
सडक स्तरोन्नति नहुँदा खडेरीमा धुलैधुलो, वर्खामा हिलैहिलो र पहिरो खस्ने समस्याका कारण सवारी साधन पनि चल्नै नसक्ने अवस्था सिर्जना हुने गरेकाले निस्दीका स्थानीयले निस्दी गाउँपालिका, रामपुर नगरपालिकासँगै सडक डिभिजन कार्यालय पाल्पा, सडक पूर्वाधार विकास कार्यालय पाल्पा र सडक विभाग काठमाडौंमा ध्यानाकर्षण गराएको हो ।
सडक स्तरोन्नति कार्य नगरी सरोकारवाला निकायले लापरबाही र ढिलासुस्ती गरे चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ।