काठमाडौं। नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) पदका लागि आवेदन माग गरिएकाे छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै टेलिकमको प्रबन्ध निर्देशकका लागि दरखास्त माग गरेको हो।
सूचनामा उल्लेख भएअनुसार टेलिकमको प्रबन्ध निर्देशकमा आवेदन दिन ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको हुनुपर्ने, मान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानून, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने छ।
दूरसञ्चार कम्पनीको वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायमा १२ वर्षको कार्य अनुभव र व्यवस्थापकीय पदमा काम गरेको अनुभव भएकाले आवेदन दिन पाउनेछन्।
यसअघिका निर्देशक सुनिल पौडेल भ्रष्टाचारको मुद्दामा तानिएपछि संगीता पहाडी अर्यालले निमित्तको जिम्मेवारी सम्हालिरहेकी छन्।