काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले कपिलवस्तुको वाणगंगा नगरपालिका-७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसन सञ्चालनमा आएको छ। सबस्टेसनमा रहेका ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरहरुलाई चार्ज गरी सञ्चालनमा ल्याइएको हो।
सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि चार वटा फिडर निकालिएको छ। यसमध्ये तीन वटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ।
यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट विद्युत् आपूर्ति भइरहेको थियो। लामो लाइनबाट विद्युत् आपूर्ति हुँदा न्यून भोल्टेज, ट्रिप भएर झ्याप्प-झ्याप्प बत्ती जानेलगायतका समस्या थियो। अब मोतीपुर सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुने र प्राविधिक चुहावट पनि घट्ने प्राधिकरणको भनाइ छ।
बुर्तिवाङ-पाउदी अमराई-तम्घास-सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत मोतीपुर सबस्टेसन निर्माण गरिएको हो। आयोजनाअन्तर्गतकै अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ।
आयोजनाअन्तर्गतको मोतीपुर-सन्धिखर्क खण्ड प्रसारणलाइनमा पर्ने १०६ वटा टावरको निर्माण सम्पन्न भएको छ। यस खण्डमा पर्ने ३८ किलोमिटर प्रसारणलाइनमध्ये १३ किलोमिटर तार टाँगिएको छ।