काठमाडौं। सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना नदीको माथिल्लो तटीय क्षेत्रमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना नदीको माथिल्लो तटीय क्षेत्रमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो।
सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागिता जनाउने भएकोले भ्रमण स्वीकृत, लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा ९१० बमोजिमका ५२ रोगहरुलाई संक्रामक रोगहरुको रुपमा तोक्ने, जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने, ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।