काठमाडौं। सिद्धार्थ राजमार्गको निर्माण कार्य ८० प्रतिशत पूरा भएको छ। सडक डिभिजन कार्यालय पाल्पाले निर्माण व्यवसायीले ८० प्रतिशत काम सकेको जानकारी दिएको हो।
सिद्धार्थ राजमार्गको लामीडाँडादेखि बर्तुङ्सम्मको सडक कालोपत्रे गर्ने, नाली बनाउने, टेवा पर्खाल लगाउने काम भइरहेको छ । सिद्धार्थ राजमार्गको डेढ किलोमिटर कालोपत्रे, वाल निर्माण, सिद्धबावा रामापिथेकस नजिकै ८० मिटर सडक ढलान, सिद्धार्थ राजमार्गकै सेरामा राजमार्ग ढलानको काम भइरहेको छ ।
तीन स्थानमा सडक स्तरउन्नति तथा सुधारको काम गर्ने गरी गत वर्ष करिब चार करोड लागतमा ठेक्का सम्झौता भएको थियो। निर्माणको जिम्मेवारी पाएको सत्यवती कन्ट्रक्सन काठमाडौँले निर्माणमा ढिलाइ गरेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।