काठमाडौं । काठमाडौंमा सञ्चालति स्क्वाएर सहकारीका तीन सञ्चालक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सहकारीका अध्यक्ष वासुदेवमान जोशी, सचिव सूवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछैंलाई पक्राउ गरेको हो ।
सात करोडभन्दा बढी हिनामिना गरेको आराेपमा उनीहरूलाइ पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ।
आकर्षक ब्याज दिने भनी लोभ्याएर सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक र त्रैमासिक तथा वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावा, ब्याज फिर्ता पाउने विश्वासका साथ उनीहरूले रकम जम्मा गर्न लगाउने गरेको बताइएको छ ।
उक्त संस्थामा बचतकर्ताले जम्मा गरेको रकमको सावाँ, ब्याज पटक पटक ताकेता गर्दा पनि फिर्ता नदिएपछि निक्षेप जोखिममा रहेको भन्दै बचतकर्ताले उजुरी गरेका थिए ।
उनीहरूलाई काठमाडौं महानगरपालिका, नगर कार्यापालिकाको कार्यालय, सहकारी विभागको पत्रको आधारमा काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।