काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी एयरलायन्सलाई ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ प्रबन्ध सेवा)अनुमति दिइने भएको छ।
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शनिबार एक कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल सञ्चालन आधार बनाएर नियमित उडान सेवा सुरु गरे निजी क्षेत्रलाई ग्राउन्ड ह्यान्डलिङ अनुमति दिइने बताएका हुन्।
हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्यान्डलिङ सञ्चालन अनुमति पाएको नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्यान्डलिङ सेवालाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय उडानका लागि अनुमति प्राप्त अन्य नेपाली वायुसेवा सञ्चालन संस्था (एयरलायन्स) लाई ग्राउन्ड ह्यान्डलिङ सेवा अनुमति दिइने उनको भनाइ छ।
यसअघि नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कमर्सियल ग्राउन्ड ह्यान्डलिङ अनुमति पाएको थियो।
अब अन्तर्राष्ट्रिय उडानका लागि अनुमति प्राप्त अन्य नेपाली वायुसेवाले नियमित उडान सेवा सुरु गरे उनीहरुलाई पनि कमर्सियल ग्राउन्ड ह्यान्डलिङ अनुमति प्राप्त हुनेछ।
मन्त्री तामाङले नेपालको पर्यटन क्षेत्रमा सम्भावना र अवसर अत्यधिक रहेकाले फोटो प्रचारसहितका विभिन्न माध्यम थप प्रभावकारी हुने धारणा व्यक्त गरे। उनले फोटोग्राफीमार्फत नेपालको पर्यटन गन्तव्य प्रवर्द्धन गर्न यसबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे।