पर्वत। पर्वत र म्याग्दी जिल्लाका ग्रामीण बस्तीलाई समेटेर विगत एक दशक अघिदेखि सञ्चालनमा आएको अन्नपूर्ण धौलागिरि ‘इको पदमार्ग’मा पर्ने घोप्टेखोलामा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ । पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटको डाडाकटेरीस्थित घोप्टेखोलामा झोलुंगे पुल निर्माण भएको हो । वर्षायाममा घोप्टेखोलामा आउने बाढी र खोलाको बहाबले जोखिमपूर्ण यात्रा गर्न बाध्य पर्यटकका लागि पुल बनेपछि स्थानीयबासी र पर्यटक लाभान्वित भएका छन् ।
एग्रिकल्चर एड एसोसिएसन ब्रिट्रिस गोर्खा (कादुरी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ५० मिटर लामो पुल निर्माण भएको डाडाँकटेरीका स्थानीय नारायण पुनले जानकारी दिए । निर्माण सम्पन्न भएको पुलको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र कादुरी संस्थाका विजयन्त शेरचनले संयुक्त रूपमा उद्घाटन गरे । ४७ लाख ५० हजार रुपैयाँको लागतमा पुल निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।
पुल निर्माणका लागि स्थानीयबासीले एक लाख १५ हजार मूल्य बराबरको ८५ दिन श्रमदान गरेका छन् । काम थालेको ८५ दिनमै पुुल तयार भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर पुनले जानकारी दिए । पुल निर्माण भएपछि पर्वतको बाँसखर्क, मल्लाज, डाडाकेटरी, वनबढे, म्याग्दीको नागीका बासिन्दा लाभान्वित भएको जलजला गाउँपालिका–५ लेखफाँटका वडाध्यक्ष तिलक जिसीले बताए । बाँसखर्क डाडाँकेटेरी हुदै मोहरेडाँडा, पुनहिल घोडेपानी जान सकिने पदमार्ग भएकाले यो पुल प्रभावकारी भएको वडाध्यक्ष जिसीले बताए ।
पुल निर्माण भएको खुसीयालीमा स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका थिए । पुल बनेपछि घुमाउरो बाटो हिँड्न नपरेको र यात्रा अवधि छोटिएको स्थानीयले जनाएका छन् । सन् २०११ अक्टोबर देखि सञ्चालनमा आएको यो पदमार्ग पर्वतको वारिबेनी हुँदै, म्याग्दीको घुमाउनेतालदेखि सुरु भएर पर्वतको बाँसखर्क, डाँडाकटेरी, नागी, मोहोरेडाँडा, टिकोट हुँदै पाँच दिनपछि म्याग्दीको तिप्ल्याङमा पुगेर टुंगिन्छ । कतिपय बाह्य पर्यटकले भने यो पदमार्गलाई लम्ब्याएर टिकोट हुँदै खिवाङदेखि स्वापसम्म पुगेर फर्किने गरेका छन् ।
यो पदमार्गमा सन् २०१२ देखि नै अपेक्षित मात्रामा पर्यटक यात्रा गर्दै आएका छन् । यो पदमार्गमा होल्याण्ड, जर्मन, अस्ट्रेलिया, हङकङलगायत पछिल्लो समय आन्तरिक पर्यटकसमेत उल्लेख्य मात्रामा आउने गरेको स्थानीय होम–स्टे सञ्चालक यामबहादुर पाइजाले बताए । यसरी पदमार्गमा आउने पर्यटकले समुदायको वस्तुस्थिति, परापूर्वकालमा निर्माण भएका भौतिक संरचना, विभिन्न जडिबुटी, चराचुरुङ्गी, वन्यजन्तुका साथै हिम श्रृङखला लगायतको अवलोकन गरेर दृश्यपान गर्ने गरेको उनले जानकारी दिए । कारोबार दैनिकबाट