दाङ। कुइरेपानी–सर्रा बाइपास सडकको निर्माण रोकिएको डेढ वर्षभन्दा बढी भयो । घोराही उपमहानगर–३, कुइरेपानीदेखि १६ नम्बर वडाको सर्रा जोड्ने करिब नौ किलोमिटरको चार लेन सडक निर्माण आव २०७५/७६ देखि सुरु भएको थियो ।
प्रदेश सरकारको गौरवको सडक आयोजना भए पनि बजेट अभावसँगै जग्गा प्राप्तिको काम नटुङ्गिएका कारण सडक निर्माणको काम डेढ वर्षदेखि अलपत्र परेको छ । सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख मनिष अर्यालले बाइपास सडकको मुख्य द्वार कुइरेपानीमा जग्गा प्राप्ति गर्न ढिलाइसँगै बजेट अभावका कारण सडक निर्माणको काम रोकिएको जानकारी दिए । उनका अनुसार बाइपास सडक निर्माण अन्तर्गत सिस्ने खोलामा चार लेनको पक्की पुल निर्माणदेखि विभिन्न स्थानमा ४२ वटा कलभर्ट निर्माणदेखि सडक चौडा गर्ने, ग्राभेल गर्ने, नाला निर्माणलगायतको करिब ४० प्रतिशत काम सकिएको छ ।
सडकको कुइरेपानी खण्ड अन्तर्गत घोराही लमही सडकसँग जोड्ने निर्माणका क्रममा जग्गा प्राप्त नहुँदा निकास बन्द जस्तै भएको छ । घोराही–लमही सडकखण्ड अन्तर्गत पहिले बबई खोलामा पुल नहुँदा निकास भएको सोही अनुसार सडक निर्माणको काम अघि बढे पनि पछि बबई नदीमा पुल निर्माण भएपछि बाइपास सडकको निकास बन्द भएको हो ।गाेरखापत्र अनलाइनबाट