काठमाडौं। चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड निर्माण सम्पन्न माग गर्दै संसद्मा सङ्कल्प प्रस्ताव दर्ता गरिएको छ। संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले बुधबारको बैठकमा यस्तो प्रस्ताव दर्ता गराएका हुन्।
नेपाली कांग्रेसको तर्फबाट सांसद प्रदीप पौडेल प्रस्तावक तथा कांग्रेस सांसदहरु गगनकुमार थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, सपना राजभण्डारी, अम्बिका बस्नेत र रास्वपाका सांसद शिशिर खनाल, गणेश पराजुली र सोविता गौतमले संसद्मा सार्वजनिक महत्वको सङ्कल्प प्रस्ताव दर्ता गरेका छन्।
काठमाडौँबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कांग्रेस र रास्वपाका सांसदले सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई सार्वजनिक महत्वको सङ्कल्प प्रस्ताव बुझाएका हुन् । सडक विस्तार कार्य हुने वा नहुने अन्यौलता हटाई चक्रपथ विस्तारको कार्यलाई सुनिश्चित गर्न, अस्तव्यस्त सडक र आसपासको वातावरणीय प्रदूषण कम गर्न, सवारीसाधन आवतजावत तथा ट्राफिक व्यवस्थापन गर्न सङ्कल्प प्रस्तामा माग गरेको बताइएको छ।