तनहुँ। तनहुँको बन्दीपुर केबुलकार सञ्चालनमा आएको छ । केबुलकार बिहीबारदेखि व्यावसायिक रूपमा सञ्चालन आएको हो।
सेवा शुभारम्भको अवसरमा ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ। अहिले ३६० रुपैयाँमा आवतजावतको व्यवस्था मिलाइएको बन्दीपुर केबुलकार तथा टुरिजम लिमिटेडले जनाएको छ। यो छुटको व्यवस्था एक हप्तासम्म हुनेछ।
केबुलकारबाट ९० डिग्रीको ठाडो चट्टान अरोहण गरे झैँ साहसिक अनुभूति लिन सक्ने भएको पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास लिइएको कम्पनीले जनाएको छ।
बन्दीपुर गाउँपालिका–४ को डुम्रे बजारनजिकै केबुलकार चोकदेखि मन्दिरसम्म एक हजार सात सय मिटर दुरी सात मिनेटमा पार गर्न सकिने छ । कम्पनीका अनुसार केबुलकारको ३१ मध्ये २१ वटा यात्रु बोक्ने डिब्बा रहेको छ । प्रतिघण्टा पाँच सय जना यात्री बोक्न सक्ने क्षमता रहेको बताइएको छ।