तनहुँ। तनहुँको भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा झोलुंगे पुल निर्माण सुरु भएको छ । झोलुंगे पुल अभावमा समस्या भोगिरहेका यस भेगका जनताको माग सम्बोधन गर्दै यहाँ झोलुंगे पुल निर्माण थालिएको हो । भानु नगरपालिका, झोलुंगे पुल क्षेत्रफल कार्यक्रम, गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण हुने पुलको शनिबार शिलान्यास गरिएको छ ।
भानु नगरपालिका–१ साखेटार र वडा नम्बर ५ ढाँडखोला जोड्ने पुल निर्माणका लागि संघीय सरकारको ८५ प्रतिशत, स्थानीय सरकारको १३ प्रतिशत लगानी रहनेछ भने स्थानीय उपभोक्ताले दुई प्रतिशत साझेदारी गर्नेछन् । भानु नगरपालिका–५ का वडाध्यक्ष नहकुल अधिकारीले पुलको शिलान्यास गर्दै पुल निर्माण भएपछि दुवै वडाका सर्वसाधारणलाई आवतजावतमा सहयोग पुग्ने बताए।
उनले भने, ‘पुल अभावमा दुई मिनेटको बाटोका लागि घुमेर यात्रा गर्नुपथ्र्यो, खोला तरेर आवतजावत गर्दा जोखिम उत्तिकै रहन्थ्यो । अब पुल बनेपछि सहज रूपमा आवतजावत गर्न पाइन्छ ।’ कुल ७१ लाख ३१ हजारको लागतमा पुल निर्माण हुन लागेको छ । पुल निर्माणका लागि सामाजिक तथा प्राविधिक सहयोग गैरसरकारी संस्था समन्वय समिति दमौलीले गरेको छ ।
संस्थाका महासचिव राजेश्वर हड्खलेका अनुसार पुल निर्माणका लागि भानु नगरपालिकाबाट नौ लाख ३० हजार, झोलुंगे पुल क्षेत्रफल कार्यक्रमबाट ५४ लाख ७९ हजार, गण्डकी प्रदेश सरकारबाट पाँच लाख ८२ हजार र स्थानीयबाट एक लख ३९ हजार सहयोग रहनेछ । विसं २०८० जेठ ३ गते पुल निर्माणका लागि सम्झौता भए पनि एक वर्षपछि निर्माण कार्य थालिएको हो । विसं २०८२ साल असार मसान्तसम्म पुल निर्माण गर्ने म्याद रहेको छ । १२० मिटर लम्बाइ रहेको पुल निर्माणपछि १५६ घरधुरीका ९३६ जना लाभान्वित हुनेछन् । कारोबार दैनिकबाट