पर्वत। जिल्लाको मोदी गाउँपालिका र कुश्मा नगरपालिकास्थित मोदी खोलामा निर्मित २० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन थालेको छ। सो आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। कात्तिक अन्तिम सातादेखि परीक्षण उत्पादन थालेको आयोजनाले हालै मात्र व्यावसायिक उत्पादन सुरु गरेको हो।
३ अर्ब ६० करोड रुपैयाँ लागत इस्टिमेट अनुमान गरी २०६९ साउनमा निर्माण सुरु भएकोआयोजनाले ६० महिना अर्थात् २०७४ असारभित्रै उत्पादन दिने दाबी गरेको भएपनि आयोजनाले निर्धारित समयभन्दा करिब ४ वर्ष ५ महिना ढिला उत्पादन थालेको हो। यसैगरी निर्माणको म्याद लम्बिएपछि खर्च पनि बढेको भएता पनि आयोजनाको सम्पूर्ण खर्चको विवरण सार्वजनिक भइनसकेको आयोजना प्रमुखले जानकारी दिएका छन्।
सो आयोजनाले सुरुका वर्षमा भूकम्प, भारतीय नाकाबन्दी, स्थानीयको अवरोधका साथै कामदारबाट समेत विरोधको सामना गर्नुपरेको थियो। २०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग खरिद सम्झौता भएको आयोजनाले वार्षिक ११ करोड ७० लाख युनिट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो। तर समयमै आयोजना नसकिंदा सम्झौता के हुने भन्ने निश्चित नभएको आयोजनापक्षको भनाइ छ।