काठमाडौं। सूर्यविनायक–धुलिखेल सडकको काम हालसम्म २५ प्रतिशत मात्र सम्पन्न भएको छ। निर्माण कार्य सुरु भएको डेढ वर्ष बितिसक्दा २५ प्रतिशतमात्रै भौतिक प्रगति भएको हो।
भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सडक विस्तार सुरु गरिएको थियो।
विसं २०७९ पुस २४ गते निर्माण कम्पनीले दुई खण्डमा गरी तीन वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । सडक विस्तारका लागि सात दशमलव पाँच किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
सडक मापदण्डभित्र परेका केही स्थायी संरचनाले सडक विस्तारमा अवरोध पुगेको जनाउँदै बीचबीचमा काम छाड्दै अगाडि बढ्नुपर्दा ढिलो भएको आयोजनाले जनाएको छ । स्थायी संरचना हटाउनेबारेमा छिटो निर्णय गर्न सम्बन्धित मन्त्रालयमा पत्राचार गरेको जनाउँदै अहिलेसम्म क्षतिपूर्ति दिनेबारेमा निर्णय नहुँदा पनि समस्या भइरहेको आयोजनाको भनाइ छ।