काठमाडौं। कतारबाट कम्मरमा सुन लुकाएर ल्याउने तीन जना पक्राउ परेका छन्। प्रहरीले तीन जनालाई सिनामङ्गलबाट प्रकाउ गरी शुक्रबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा गरेकामा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासीको पूर्व गैडाकोट नगरपालिका–१३ का २६ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–१३ का २५ वर्षीय अञ्जिल गुरुङ रहेका छन्।
हिमालय एयरको उडानमार्फत कतारबाट नेपाल आउने क्रममा खाँले कम्मरमा लुकाएर सुन ल्याएको भेटिएपछि उनलाई सिनामङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सुरक्षा जाँचका क्रममा खाँको साथबाट निलो रङ्गको जिन्स पाइन्टको कम्मरको भागमा सेतो टिस्यु पेपरले फोल्ड गरी लुकाइछिपाइ राखेको अवस्थामा झण्डै १० लाख पर्ने ६९ दशलमव आठ सय ९० ग्राम तौलको ब्रासलेट र ११ दशमलव छ सय ५० ग्राम तौलको बेरुवा औँठी फेला पारिएको प्रहरीले जनाएको छ।