काठमाडौं। नेपाल वायुसेवा निगमले दुई सातापछि आज काठमाडौं-हङकङ उडान गर्ने भएको छ। नेपालबाट हङकङ जाने यात्रुमा कोभिड-१९ संक्रमण देखिएसँगै हङकङ विमानस्थलले निगमको उडान दुई साताको लागि बन्देज गरेको थियो।
आज हुने उडानका लागी निगमले यात्रुलाई ६ घण्टा अगाडि नै विमानस्थल आइपुग्न निर्देशन दिएको छ। विमानस्थलमा आरटी पीसीआर परीक्षणको रिपोर्ट जाँचका लागि निगमले यात्रुलाई अगाडि नै बोलाएको हो।
नेपालबाट कोरोना नेगेटिभको रिपोर्ट देखाएर यात्रा गरेका यात्रुलाई हङकङ अवतरणपछि पोजेटिभ देखिँदा नेवानिको जहाजले पटक पटक प्रतिबन्ध झेल्दै आएको छ।
डेढ महिनायता हङकङ सरकारले यात्रुको स्वास्थ्य परीक्षणमा कैफियत देखाएसँगै निगमले दुई सातापछि आज उक्त गन्तव्यमा उडान गर्ने भएको छ।
सातामा एउटा उडान हुँदै आएको काठमाडौं-हङकङ-काठमाडौं गन्तव्यमा दुईतर्फी अकुपेन्सी ९० प्रतिशत कायम हुँदै आएको निगमले जानकारी दिएको छ। निगमले यो गन्तव्यमा एयरबस ३३० (वाइडबडी) सिरीजको जहाजले सेवा दिँदै आएको छ।