काठमाडौं। बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ। आइतबार रातिदेखिको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल बगाएको हो।
२०७८ को बाढीले पुल बगाएपछि ह्युम पइप राखेर बनाइएको अस्थायी पुल पनि बाढीले बगाएको हो।
पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ।
ह्युम पाइप क्षति भएसँगै मेलम्ची ९ दुवाचौर , केउरानी , बरुवा, बाँसखर्कलगायतमा यातायात सञ्चालनमा कठिनाइ भएको छ। पुल बगाएपछि ती ठाउँहरूमा जान थप १५ किलोमिटर घुम्नुपर्ने अवस्था रहेको वडा कार्यालयले जनाएको छ।
सिन्धुपाल्चोकमा पछिल्लो १२ घन्टामा धेरै भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकको ढुंगेमा पछिल्लो १२ घन्टा १५९ मिलिमिटर पानी परेको छ।