काठमाडौं। काठमाडौंको भेडासिंहको किलागल टोकमा पुलकुसी शरणको मन्दिर निर्माण गरिएको छ। नवनिर्मित मन्दिरको काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका हुन्।
नेवारी समुदायमा पुलकुसी अर्थात ऐरावत हात्तीलाई देवताको रुपमा पुज्ने चलन छ। उद्घाटन गर्दै मेयर शाक्यले नेपालको धार्मिक एवं सांस्कृतिक पक्षको जगेर्ना गर्नु सबै नागरिकको जिम्मेवारी रहेको बताए।
ज्यापु सांस्कृतिक सम्प्रदाय संरक्षक समितिले गरेको मन्दिर उद्घाटन कार्यक्रममा उनले काठमाडौंलाई सांस्कृतिक सम्पदाको रुपमा विकास गर्न महानगर दत्तचित्त दिएर लागि परेको बताए।
परापूर्व कालदेखि राजा इन्द्रको बाहान मानिने ऐरावत हात्ती इन्द्रजात्राको समयमा नचाइने परम्परा रहिआएको छ।