काठमाडौं। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको ७६ प्रतिशत काम सम्पन्न भएको छ। आइतबार राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा गरिएको स्थलगत अनुगमनमा आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले अहिलेसम्म आयोजनाको ७६ प्रतिशत काम सकिएको जानकारी दिएका हुन्।
आयोजनाको वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ । अनुगमन टोली नागढुङ्गातर्फबाट सुरुङमार्गमा प्रवेश गरी धादिङको सिस्नेखोला निस्केका थिए ।
एक वर्षभित्र सवारी चलाउने गरी सुरुङमार्गको काम भइरहेको बताउँदै उनले सुरुङको कुुल लम्बाइमध्ये अब ‘लाइनिङ’ गर्न पाँच सय मिटर मात्र बाँकी रहेको जानकारी दिए।
त्यसै गरी सुरुङमार्गभित्र अक्सिजन, लाइट, भेन्टिलेसन, टेलिफोन, जेट पङ्खालगायतका संरचना जडानको काम भइरहेको छ । आयोजना अन्तर्गत अहिले तीन वटा अन्डर पास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभर पास र फ्लाइओभर गरी कुल १२ वटा संरचना निर्माण भइरहेका छन् ।