महेन्द्रनगर। कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकाले महाकाली झोलुंगे पुलको सौन्दर्यता बढाउन पुल वरिपरि पक्की सडक निर्माण कार्य अघि बढाएको छ । दोधारा–चाँदनी नगरपालिका कार्यालयको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमअनुसार महाकाली झोलुंगे पुलमा पर्यटक आकर्षण बढाउन दोधारा–चाँदनी नगरपालिका–४ महकाली झोलुंगे पुल क्षेत्र वरिपरि पक्की सडक निर्माण कार्य सञ्चालन गरेको हो ।
एसियाकै दोस्रो लामो मानिने कञ्चनपुरको महाकाली नदीमाथिको ‘मल्टिस्पान पेडेस्ट्रेन’ झोलुंगे पुल पर्यटकको रोजाइमा पर्ने गरेको छ । सोही विषयलाई मध्यनजर राख्दै दोधारा–चाँदनी नगरपालिकाले पुलको सौन्दर्यता बढाउन पक्की सडक निर्माण कार्य सुरु गरेको हो । पुल क्षेत्रमा कच्ची सडकका कारण पर्यटकलाई वर्षाको समयमा हिँडडुल गर्न तथा गर्मीको मौसममा धुलोले सास्ती खेप्दै आउनु परेको थियो ।
यस आर्थिक वर्षमा निर्माण कार्य सकिने गरी दिमुक निर्माण सेवाले पुलको ११५ मिटर लम्बाइ तथा आठ मिटर पक्की सडक निर्माण जिम्मा लिएको दोधारा–चाँदनी नगरपालिका कार्यालयका प्राविधिक अशोक चन्दले जानकारी दिए । उनका अनुसार दोधारा–चाँदनी नगरपालिका कार्यालयको आन्तरिक राजस्व रकमबाट महाकाली झोलुंगे पुलको सौन्दर्यता बढाउन पक्की सडक निर्माण गरिएको हो ।
आन्तरिक र बाह्य पर्यटक पुल नियाल्नका लागि यहाँसम्म आइपुग्ने गरेता पनि कच्ची सडकका कारण पर्यटकलाई सास्ती खेप्नुपर्ने अवस्था रहेको दोधारा–चाँदनी नगरपालिका–४ का वडा सदस्य पदमराज भट्टले बताए । पर्यटकको आकर्षणसँगै बजार क्षेत्रको सौन्दर्यता बढाउन दोधारा–चाँदनी नगरपालिका–४ महाकाली झोलुंगे पुल क्षेत्रमा सडक पक्की निर्माण गर्न थालिएको वडा सदस्य भट्टले बताए । त्यसैगरी सडक नगरपालिकाको आठ लाख रुपैयाँमा निर्माण कार्य सुरु गरिएको छ । पुलनजिक क्षेत्रमा कालोपत्रे निर्माण हुन थालेपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।
सूर्यास्त र सूर्योदयको समयको मनोरम दृश्य हेर्नका लागि पर्यटक पुल क्षेत्रमा पुग्ने गर्दछन् । उक्त पुलसँग महाकाली नदीमा सेल्फी लिने र सामूहिक तस्बिर लिनेको भीड नै लाग्न गर्दछ । दैनिक पुल हेर्नकै लागि झण्डै दुई सयदेखि चार सयको संख्यामा आन्तरिक पर्यटक उक्त क्षेत्रमा पुग्ने गरेको स्थानीय बताउँछन् । वि।सं २०६१ सालमा पुल निर्माण गरिएको हो । पुलको लम्बाइ १४ सय ५२ मिटर रहेको छ । पुलमा ३२.७ मिटर उचाइका सातवटा अग्ला टावर ठड्याइएको छ। कारोबार दैनिकबाट