काठमाडौं। नेपालमा उत्पादन भएर खपत नभइ खेर गइरहेको विद्युत बंगलादेशले खरिद गर्ने इच्छा व्यक्त गरेको छ। बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालको विद्युत खरिद गर्ने बताएका हुन्।
उनले आउँदो वर्षबाटै विद्युत खरिद गर्ने बताए। उनले भने, ‘नेपालमा उत्पादन भएको विद्युत खपत नभएर खेर गइरहेको अवस्था छ। त्यो विद्युत् हामी खरिद गर्न सक्छौं।’
उनले नेपालबाट विद्युत आयातका लागि प्रसारण लाइनको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनको समेत निर्माण थालनी गर्ने बताए। राज्यमन्त्री नसरुलले सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर बढी हुने ३५ सय मेगावाट समेत बिजुली खरिद गर्ने बताए।
उनले आफू आगामी मार्चमा नेपाल भ्रमणमा आउने र यस विषयका टुंगो लगाउने बताए।
बंगलादेश ऊर्जा विकास बोर्डलाई नेपालमा सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनासँग सिधै विद्युत खरिद सम्झौता गराउने गृहकार्य सुरु गर्ने पनि राज्यमन्त्री नसरुलले बताए।
भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युतमा लगानीका लागि बंगलादेशका लगानीकर्ताका लागि खुला गर्न समेत आग्रह गरेका छन्। उनले नेपालका निजी क्षेत्रसँग सिधै पिपिए गरेर विद्युत खरिद गर्न पनि राज्यमन्त्रीसँग अनुरोध गरे।