काठमाडौं। मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डको काम हालसम्म ४५ प्रतिशत मात्र पूरा भएको छ। सडकको हालसम्मको भौतिक प्रगति ४५ प्रतिशत र वित्तीय प्रगति ४५ दशमलव ८१ प्रतिशत मात्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ।
१० अर्ब १३ करोड लागतमा झापाको बाहुनडाँगीदेखि सुनसरीको चतरासम्म १३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाएर काम भइरहेको हो। यस सडकखण्डमा पुलको काम भने अन्तिम चरणमा पुगेको छ।
पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ । ३७ वटा पुलमध्ये २२ वटा पूरा भएका छन् । मोरङ, सुनसरी, झापा र इलामका खोलामा पुल निर्माण भएका छन् । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ् तेली, बिजुवा, बुकुवा, रतुवा खोलामा पुल निर्माण सम्पन्न भएको छ ।