म्याग्दी। धौलागिरि गाउँपालिका–७ धारापानीदेखि धारापानी–ताकम–शिवाङ–झिनडाँडासम्मको सडक स्तरोन्नति गर्न सुरु गरिएको छ। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत धौलागिरि गाउँपालिकाको धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेलको काम सुरु भएको हो ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु पाँच करोड विनियोजन गरेको यस सडकका लागि रु २५ करोड बराबरको वहुबर्षीय ठेक्का लगाउन बजेटको स्रोत सुनिश्चिता गरेको थियो ।
प्रतिस्पर्धामार्फत आयोजना निर्माणका लागि छनोट भएको निर्माण कम्पनी रामसागर–बिएस धौलागिरि जेभीले संयुक्त सर्वेक्षणको काम सकेर सडक फराकिलो बनाउन कार्यक्षेत्रमा परिचालन भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो । चार किलोमिटर लामो यो सडक स्तरोन्नति गर्न उक्त कम्पनीले रु १४ करोड ६१ लाख ६१ हजारमा गत जेठ २० गते सडक विभागसँग सम्झौता गरेको छ ।