काठमाडौं। शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले तीन निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ। ठेक्का लिएर लामो समयदेखि निर्माण कार्य अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनसहित तीन कम्पनीसँग स्पष्टीकरण सोधिएको हो।
आयोजनाले सार्वजनिक सूचना निकालेर पप्पु /शिवशक्ति जेभी, पि.एस/विरुवा जेभी र सन्तोषी/कान्छाराम/डाँफे जेभीलाई स्पष्टीकरण मागेको छ।
यी निर्माण व्यवसायीहरुले निर्माण कार्य गर्ने सम्झौता गरेपनि पटक पटक म्याद थप गर्दा समेत काम सम्पन्न गर्ने ठोस प्रयास नगरेको र लिखित रुपमा निर्देशन दिँदा समेत काम गर्न चासो नदेखाएको सूचनामा उल्लेख छ।
चितवनको रत्ननगर नगरपालिकासँग रत्ननगर सभाहल निर्माणको लागि २०७३ मा ठेक्का लिएर पीएस/विरुवा जेभीले काम अधुरो छाडेको सूचनामा उल्लेख छ।
रामग्राम नगरपालिका–२ को हाटबजार निर्माण सुधार, सामुदायिक पूर्वाधार योजनासँग काम लिएर पप्पु/शिवशक्ति जेभीले काम अधुरै छोडेको र भरतपुर महानगरपालिकाको विभिन्न स्थानहरुमा सडक तथा ढल निर्माण कार्य, प्याकेज-१ को ठेक्का लिएर सन्तोषी/कान्छाराम/डाँफे जेभीले काम अधुरै छोडेको सुचनामा उल्लेख छ।
.png)